नयाँ संस्करणको इंग्लिस प्रिमियर लिग सुरु हुने संघारमा म्यानचेस्टर युनाइटेडका कप्तान वायन रोनीले नयाँ व्यवस्थापक जोसे मोउरिन्होको आगमनपछि आफू प्रदर्शनका लागि अझ बढी उत्प्रेरित भएको मंगलबार बताएका छन् । लुइस भान गालको बर्खास्तीपछि मोउरिन्होले अब ओल्ड ट्रायफार्ड सम्हाल्नेछन् र यसले म्यानचेस्टर फेरि एकपल्ट लिग उपाधिको बलियो दाबेदार बनेको छ । र, मोउरिन्होले भनिसकेका छन्, रोनीले अगाडि खेल्नेछन् ।
पछिल्लो सिजन म्यानचेस्टरका लागि रोनीले मध्यभित्रको मिडफिल्डरको भूमिका निभाएका थिए । युरो २०१६ मा पनि उनले यही भूमिकामा खेले । अहिले ३० वर्ष छोएका रोनी म्यानचेस्टरका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्नेबाट चारले मात्र पछाडि छन् । बबी चाल्र्टनको नाममा म्यानचेस्टरका लागि सर्वाधिक २ सय ४९ गोलको कीर्तिमान छ । रोनीले क्लबको पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मोउरिन्होसँग काम गर्न म खुसी छु ।’
‘किनभने उनी विश्वकै सबैभन्दा राम्रा व्यवस्थापकमध्ये एक हुन्,’ रोनीलाई विश्वास छ, ‘म्यानचेस्टरमा फेरि एकपल्ट रोमाञ्चक दिन फर्कन लागेको छ । व्यक्ति र व्यवस्थापक दुवै भूमिकामा मोउरिन्होप्रति मेरो सम्मान छ । उनी भलाद्मी पनि छन् । विश्व फुटबलकै सर्वाधिक सफल व्यवस्थापकमा उनको नाम आउने गर्छ । त्यसैले पनि खेलाडीका रूपमा म फेरि राम्रो खेल्न उत्प्रेरित भएको छु । म मात्र होइन, अरू खेलाडी पनि मोउरिन्होसँग काम गर्न खुसी हुनेछन् ।’
म्यानचेस्टरले नयाँ सिजनका लागि जाल्टन इब्राहिमोभिचसँगै आइभरिकोस्टका डिफेन्डर एरिक बेली र आर्मेनियाली प्ले मेकर हेनरिख माखितरयानलाई भित्र्याइसकेको छ । रोनीले प्रतिद्वन्द्वीका रूपमा मोउरिन्होको टिमविरुद्ध खेल्न कहिल्यै पनि सजिलो नभएको माने ।
‘उनले सम्हालेको प्रत्येक टिम हराउन गाह्रो हुने गर्छ, यस्तो किन भन्दा प्राविधिक आधारमा उनको टिम बलियो छ । त्यो भन्दा पनि ठूलो सफल छ ।’ मोउरिन्होले यसअघि चेल्सी, इन्टर मिलान, रियल म्याड्रिड र पोर्टो सम्हालिसकेका छन् ।
Source: ekantipur.com
Post a Comment