0
ती किशोरको लामोलामो कपाल थियो । अहिले त्यो छोटो भइसकेको छ । पहिले चट्ट सफा देखिने उनको अनुहारमा हल्का दाढी रहेको छ । तर कसैले पनि ती मोहमद आमिर नै हुन् भनेर चिन्न भने छुटाएनन् । गत साता टउनटनमा समरसेटविरुद्धको खेलमा पाकिस्तानका लागि यिनै आमिरले पहिलो इनिङ्समा तीन विकेट लिए र ‘एयर–प्लेन’ शैलीले खुसियाली मनाए । सन् २०१० को लड्र्स टेस्टका क्रममा उनको खेल जीवनमा ग्रहण लागेको थियो ।
धेरैले सोचेका थिए, यी आमिरले फेरि खेल्ने छैनन् । इंग्ल्यान्डविरुद्धको त्यस टेस्टमा आमिर र उनका नयाँ बलका पार्टनर मोहम्मद आसिफले जानाजानी नो–बल गरे । यो सबै कप्तान सलमान बटको निर्देशनअनुसार भएको थियो । अनि यो सबै टेबलोयड पत्रिकाको स्टिङ–अपरेसनको क्रममा भएको थियो । यो कर्टुनका लागि तीनै खेलाडीले पाँच–पाँच वर्षको जेल सजाय पाए । सजाय पाउनेमा उनीहरूका स्पोट्र्स एजेन्ट मजर माजिद पनि थिए ।
यो घटनाले पाकिस्तानी क्रिकेट समर्थकहरू स्तब्ध रहे । तर यसै घटनामा फसेका १८ वर्षीय आमिरलाई लिएर भने सबैको एकखाले सहानुभूति भने थियो । बिचरा, आमिर । सबैले यस्तै भनेका थिए । वेस्ट इन्डिजका पूर्व फास्ट बलर माइकल होल्डिङ कमेन्ट्रीका क्रममा आफ्ना भावना पोख्ने खालका होइनन् । तर जति बेला टेलिभिजन पण्डितका रूपमा आमिरलाई लिएर उनी चर्चामा ओर्लिएका थिए, यिनै होल्डिङले पनि आमिरलाई लिएर आफ्नो आँसु रोक्न सकेनन् ।
समरसेटविरुद्धको खेलमा आमिरको बलिङमा भने उस्तै धारिलोपन देखिन्थ्यो । गुड लेन्थ बललाई उनी अन्त्यतिर स्विङ गराउन उनी माहिर थिए । त्यस खेलमा त्यस्तै देखियो । उनी उत्कृष्ट बलर हुन्, कुनै शंका थिएन । कोही पनि राम्रा ब्याट्सम्यानलाई आमिरको बल सामना गर्न सजिलो हुने गर्दैन । समरसेटविरुद्ध उनी ‘म्यान अफ द म्याच’ पनि रहे । यसअघि उनले चार टेस्टमाा १९ विकेट लिएका थिए र त्यति बेला उनी खालि १९ वर्षका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीआई) ले आमिर, आसिफ र बट तीनै जनालाई पाँच–पाँच वर्ष प्रतिबन्ध पनि लगाएको थियो । इंग्लिस अदालतको निर्णय बाहिर निस्केपछि तीनै जना जेलमा पनि परे । तर पनि एकखाले क्रिकेट समर्थकमाझ आमिरविरुद्ध वास्तवमै सहानुभूति भने थियो । यस्तो किन भन्दा उनी मस्त प्रतिभाशाली खेलाडी थिए । त्यो भन्दा पनि ठूलो, धेरैलाई विश्वास थियो, उनलाई उनकै केही सिनियर खेलाडीले फसाएका थिए ।
स्पट फिक्सिङको काण्ड बाहिर आएपछि तीनै खेलाडीलाई आजीवन प्रतिबन्धको आवाज बाहिर नआएको पनि होइन । तर नासिर हुसेन जस्ता पूर्वखेलाडी पनि थिए, जसको मन त्यति बेला दुई धारमा विभाजित थियो । पूर्व इंग्लिस कप्तान भन्थे, ‘मेरो एक मनले भन्छ, आजीवन प्रतिबन्ध ठीक हो । यस्तो सजाय हुनु नै पर्छ । तर अर्को मन फेरि भन्छ, किन उनीहरूलाई दोस्रो मौका नदिने त ?’ आमिरले त्यति बेला इंग्ल्यान्डमा तीन महिना जेल सजाय बेहोरेका थिए ।
अहिले हुसेनको एक मनले भने जस्तै उनले दोस्रो मौका पाउँदै छन् । प्रतिबन्ध फुकुवा भएपछि आमिरले पाकिस्तानका लागि सीमित ओभरको क्रिकेट खेलिसकेका छन् । तर जति बेला बिहीबार पाकिस्तान र इंग्ल्यान्डबीचको चार टेस्ट सिरिजको पहिलो खेल लड्र्समा हुनेछ, त्यति बेला आमिरको खेल जीवनले एक चक्र पूरा गर्नेछ । विश्वास नहुन सक्छ, खेल मिलेमतोमा लागेकालाई आजीवन प्रतिबन्ध लगाउनुपर्छ भन्ने विचारका समर्थक हुन्, आमिर ।
केही समयअगाडि कराँचीमा दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘अहिले पनि क्रिकेटमा मिलेमतो चलिरहेको छ भने त्यो वास्तवमै चिन्ताको विषय हो । खेल मिलेमतो गर्नेलाई आजीवन प्रतिबन्ध लगाउनुपर्छ, म यसको समर्थक नै हुँ ।’ आमिर निकै राम्रा बलर हुन्, उनको एक प्रशंसकमा पाकिस्तानका टेस्ट कप्तान मिसबह–उल–हक पनि पर्छन् । उनी भन्छन्, ‘आमिरको बलमा गति, स्विङ र नियन्त्रण के चाहियो, सबै छ । उनी अझै विश्वकै सबैभन्दा राम्रा बलर हुन सक्छन् ।’
इंग्लिस कप्तान एलिस्टर कुकलाई के डर छ भने लड्र्सका दर्शकले आमिरलाई कतै उडाउने त होइन ? कम्तीमा समरसेटविरुद्धको खेलमा त्यस्तो देखिएन । यता आमिर भने आफ्नो
भाग्यलाई लिएर आफैं विश्वास गरिरहेका छैनन् । उनी भन्छन्, ‘अहिले जे भइरहेको छ, त्यसमा मलाई विश्वास नै हुन सकिरहेको छैन । यो संयोग नै हो, सन् २०१० मा जुन टेस्टबाट मेरो खेल जीवन रोकिएको थियो, ठीक त्यहींबाट मेरो खेल जीवनले अविश्वसनीय पुनरागमन रच्दै छ ।’

Post a Comment

 
Top