
जतिबेला बाबुरामलाई समाजका धेरै मान्छेहरुले फरक दृष्टीकोणले हेरेका थिए, उनका आफ्ना भन्नेहरु उनीबाट टाढिएका थिए । तर, हामी हाम्रै पालामा सम्वृद्ध मुलुक बनाउने आशा पालेर नयाँ शक्ति निर्माणमा लागेका थियौँ ।
हिजो त्यो समयमा बाबुरामलाई रामराम भन्न नसक्नेहरु आज उनलाई काँध थाप्नका लागि तयार भएका छन् । उनी नयाँ शक्तिको संयोजक हुनुमा हामीजस्ता थुप्रै युवाहरुको भूमिका उल्लेख्य छ । तर, पार्टी निर्माणको चरणदेखि यहाँसम्म आइपुग्दा बाबुरामसँग मेरा केही असहमतिहरु छन । उनले अहिले संयोजकको डण्डा बर्षाएर आफैंले बनाएको विधि मिच्ने काम गरिरहेका छन् । मूलतः हाम्रो असमति त्यहीँ हो ।
केही समय पहिले राजनैतिक मुद्दाको अन्त्य भएको भन्दै नयाँ शक्तिले सम्वृद्धिका लागि राजनीति गर्ने उदघोष गरेका थिए । खराब राजनैतिक संस्कारबाट आजित युवापुस्ता उनले चलाएको विकासे राजनीतिबाट आर्कषित भएका थिए । तर, कालान्तरमा बाबुरामको ध्यान सम्वृद्धिको एजेण्डाले भन्दा कलस्टरको एजेण्डाले तानेको छ । त्यो भनेको आर्थिक एजेण्डा होइन । तर, आर्थिक सम्वृद्धिको एजेण्डा पहिलो प्राथामितामा हुनुपर्ने थियो ।
कुरा सहभागितामूलक लोकतन्त्रको गर्ने बाबुरामले काम भने जंगबहादुर शैलीमा गरिरहेका छन् । सधै ट्राटस्कीको फ्यान भएको बताउने बाबुराममा स्टालिनप्रतिको मोह जागेको छ । मबाट हामी हुनुपर्छ भन्ने दृष्टिकोण राख्ने बाबुरामलाई म र मबाहेक अरु कोही जान्ने र बुझ्ने छैनन् भन्ने भ्रमले गाँजेको छ । र, त्यसैको जगमा भेलामा गएका प्रतिनिधिहरुलाई ताली बजाउन लगाएर घर फर्काएका छन् । यसले भिड बढाउने भन्दा अर्को कुनै काम गर्न सकेन । त्यो भिडमा एकजना म पनि थिएँ ।
भेलाले गर्नुपर्ने थुप्रै निर्णयहरुमाथि अंकुश लगाएर डाक्टर सा’बले त्यसको भारी सचिवालयमा थुपारिदिएका छन् । त्यहाँनेर खै कहाँ मेल खायो उनले भन्ने गरेको प्रत्यक्ष लोकतन्त्रको अभ्यास ? अहिले सचिवालयमार्फत विभिन्न किसिमको मनोनयन चलिरहेको छ । हामीमाथि विभिन्न लिगेसी बनाएर नेताहरुको घेरा बनाउँदै लगिएको छ । त्यसो गर्दा तपाईहरुले भन्नुहोला, यो संक्रमणकालमा सबैले गर्ने यस्तै त हो । तर, अहिलेको वैकल्पिक राजनैतिक शक्ति भएका कारण त्योभन्दा फरक हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो ।
कि त बाबुरामले भेलाको म्याण्डेट लिएर सह-संयोजकहरु भेलाबाटै तोक्न सक्नुपथ्र्यो, होइन भने पार्टीको महाधिवेशनसम्म यसरी नै लैजाने हिम्मत गर्नुपथ्र्यो । तर, त्यसो हुन सकेन ।
बाबुरामले लाखौँ पार्टीका संस्थापक सदस्यहरुलाई बोधार्थ पठाएर सह-संयोजकहरु चुने । र, सचिवालयकै तोकादेशमा ९९ सदस्यीय कार्य सम्पादन टोलीको निर्माण गरे, जुन विधिका हिसावले गैरलोकतान्त्रिक र जंगबहादुर शैलीको छ ।
हामीले सचिवालयमा वा कार्यसम्पादन समितिमा युवाहरुको प्रतिनिधित्व पार्टी सदस्य संख्याका आधारमा हुनुपर्छ भन्दा त्यतातिर कुनै ध्यान दिइएन । डाक्टर सा’ब ! नयाँ शक्तिले अरु पार्टीले भन्दा युवालाई हेर्ने दृष्टिकोण कसरी फरक राखेको छ ?
हामी नयाँ शक्तिको युवा संगठनको नेता भएका कारण हामीले युवा मित्रहरुलाई भनेका छौँ, अबका युवाहरु भनेका लाठी बर्साउने र भाटा हान्ने मात्र होइन, पार्टीको नीतिनिर्माण गर्ने तह हुँदै देशको नीति बनाउने ठाँउसम्म पुग्नेखालको हुनुपर्छ । हाम्रो भनाइ र डा सा’बको गराईमा कहाँनेर अन्तर भयो ? तपाई आफै भिन्नता छुट्याउनुहोस् ।
हामीलाई तपाईले भन्नुस् कि तपाईले बनाउनुभएको नयाँ कार्य सम्पादन टोलीमा कतिजना युवा परे ? यो कुरा सुन्दा तपाईहरुलाई रीस पनि उठ्दो हो । तर, हामीले युवा सहभागिताको विषय मात्र उठाएका छैनौँ, बरु समाधानका उपायहरु पनि बताएका छौँ ।
तपाईलाई लाग्न सक्छ, पार्टी निर्माणको यो चरणमा सबै कलस्टरका मान्छेहरुलाई मिलाउँदा युवाको सहभागिता छुट्नु सामान्य कुरा हो । तर, विषयलाई त्यति सतहमा पनि नबुझौँ । हामी युवाहरु पनि कलस्टरका विरोधी होइनौं । तर, जुन जुन कलस्टरका आधारमा कार्यसम्पादन टोलीमा मान्छेहरु चयन गरिएका छन्, त्यही कलस्टर अनुसार युवा पुस्तालाई कार्यसम्पादन समितिमा राखियोस् भन्ने हाम्रो जोडदार माग हो ।
यसो गर्न सकेको खण्डमा कलस्टरको पनि समस्या हल हुन्थ्यो र पार्टी सदस्यताका आधारमा युवाहरुको सहभागिता पनि सुनिश्चित हुन्थ्यो । तर, बाबुरामले त्यसो गर्न सकेनन् । बरु कलस्टरका नाममा रिटायर्ट लाइफ बिताएका मान्छेहरुलाई ल्याएर कमिसारको जिम्मेबारी दिए । मूलतः युवा सहभागिता नगराएकोमा हाम्रो बाबुरामप्रति असहमति हो ।
जीवनको अन्त्यसम्म पनि युवा नेता बनिरहने पुराना राजनैतिक संस्कृतिको ह्याङओभर फाल्न नसकेका बाबुरामले हामी युवाहरुलाई भूमिकाविहीन बनाएका छन् । उनीसँग अनुभवले मात्रै धेरै चिज गर्न सकिन्छ भन्ने भ्रम छ । वा युवापुस्ताप्रति बिश्वास छैन । यी दुईखाले समस्याबाट मुक्त नहुँदासम्म नयाँ शक्ति साँच्चैको नयाँ बन्न सक्दैन ।
बाबुरामलाई लाग्दो हो, ४० बर्ष नपुगेको मान्छे आलोकाँचो हुन्छ । तर, उनले एकपटक फेरि गुगलमा गएर खोजुन् विश्वका कतिवटा देशमा ४० वर्ष भन्दा कम उमेरका युवाहरुले कतिवटा देशको नेतृत्व गरिरहेका छन् ?
हामीले यसरी बाबुरामसँग असहमति राखिरहँदा कतिपयलाई लाग्न सक्ला, किन आफ्नै नेताको सार्वजनिकरुपमा विरोध गरेको भनेर । तर, अब युवाहरुले पार्टीमा जबरजस्त हस्तक्षेप नगर्ने हो भने रिटायर्डहरुबाट मात्रै पार्टीलाई नयाँ बनाउन र देशलाई सम्मृद्ध बनाउन सम्भव छैन । हामी नयाँ शक्तिलाई साँच्चैको नयाँ बनाउनका लागि नीति निर्माण हुने स्थानमा युवा सहभागिता बढाउनुपर्छ भन्ने अभियानमा छौँ ।
उमेरले ४० नकटेका देशभरिका युवाको सहभागिता भए पनि हुन्छ भन्ने हाम्रो बुझाइ हो । त्यसैका लागि नयाँ शक्तिमा युवाहरुको अभियान जारी छ । नयाँ शक्तिमा आबद्ध सम्पुर्ण युवाहरुलाई आग्रह के हो भने बाबुरामले भनेजस्तै युवाले नगरेर कसले गर्छ ? अहिले नगरे कहिले गर्ने ? युवा मित्रहरु ! अब हामी लाठी र भाटा बर्साउन हैन, पार्टी र देश बनाउनका लागि हस्तक्षेपकारी भूमिका बहन गरौँ । यो पार्टी बाबुरामको मात्र पार्टी होइन । तपाई हामीजस्ता हजारौँ युवाहरुको ठूलो मेहनतले बनेको पार्टी हो । नयाँ शक्ति साँच्चैको नयाँ बन्छ तपाई हामीले पहल गरेको खण्डमा । आउनुहोस् हातेमालो गरौँ !
Source: onlinekhabar.com/
Post a Comment