0
सरकारले झिटीगुन्टा आदेशमा संशोधन गर्दै विदेशबाट काँचो सुन ल्याउन प्रतिवन्ध लगाएपनि प्रवासमा रहने नेपालीले बिरोध सुरु गरेका छन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएर उनीहरुले काँचो सुनमाथिको प्रतिवन्ध हटाउनमा माग गरिसकेका छन् ।
तर, सरकारले यो व्यवस्थामा तत्काल परिमार्जनको योजना बनाएको छैन । साउन १ गतेदेखि विदेशबाट ५० ग्रामसम्म सुनका गहना मात्रै ल्याउन पाइने छ । यसले गर्दा विदेशबाट शुद्ध सुन ल्याउन नपाउने चिन्ता विदेशमा रहेका कामदारहरुमा छ ।
कामदारहरुले नेपालको भन्दा सस्तोमा सुन ल्याउन सकिने गरी दिइएको सुविधा पनि कटौति गरेर सरकारले अन्याय गरेको बताइरहेका छन् । किन यसरी कामदारमाथि नै केन्दि्रत गरेर काँचो सुन आयातको व्यवस्थामा प्रतिवन्ध गरियो त ? भन्सार विभागमा महानिर्देशक शिशिरकुमार ढुंगाना भन्छन्, ‘वैध बाटोबाट सुन ल्याएर अवैध कारोबार गर्नेहरु नै सक्रिय भएपछि यो व्यवस्था गर्नुपरेको हो ।’
मलेसियासहित खाडी मुलुकबाट पछिल्लो समयमा नेपालमा सुन तस्करी हुने क्रम बढेकाले काँचो सुनमाथिको प्रतिवन्ध अनिवार्य बनेको उनले बताए । एक वर्ष विदेश बसेर स्वदेश फर्किएकाले ५० ग्रामसम्म सुन नेपाल भित्र्याउन पाउने व्यवस्थामा टेक्दै केही व्यावसायीले यसैलाई कमाई खाने भाँडो बनाएको सरकारको ठहर छ ।
‘झिटीगुन्टाका नाममा नै एकै दिनमै ७ किलो र महिनामा २ सय १० किलोसम्म काँचो सुन आयो,’ महानिर्देशक ढुंगानाले भने, ‘यो कुनै रुपमा स्वभाविक थिएन । कामदारलाई भरिया बनाएर सुनको अवैधानिक बजार प्रोत्साहित गरिएकाले यो जरुरी देखिएको हो ।’
एयरपोर्टबाट दैनिक ७ किलोसम्म सुन आउँदा पनि राज्यले एक रुपैयाँ कर नपाएका कारण पनि सरकारले यो व्यवस्था गरेको अनुमान गरिएको छ ।
तर, भन्सारका महानिर्देशक ढुंगाना भने त्यसलाई स्वीकार्दैनन् । ‘काँचो सुन ल्याउन गिरोह नै सक्रिय भएको खुल्यो । सँगै सुन ब्यापारीले झिटीगुन्टाबाट आएका सुन किन्दा र त्यसलाई गहना बनाएर बेच्दा कुनै कागजी रेकर्ड नराखेर करसम्म छलेको पाइयो,’ ढुंगानाले भने, ‘सरकारी तवरबाट आएका सुन नकिनेर झिटीगुन्टाकै भरमा पसल चलाउने तर, राज्यलाई एक रुपैयाँ पनि कर नतिर्नेविरुद्ध मात्र यो व्यवस्था लक्षित छ ।’
राष्ट्र बैंकले अहिले दैनिक २० केजी सुनको कोटा तोकेको छ । बैंकले आयात गरेकको सुन नबिक्ने समस्या पछिल्लो समयमा बढ्दैछ । बैंकको सुन नबिक्दा पनि बजार सन्तुलनमै देखिनुले झिटीगुन्टाबाट आउने काँचो सुनको दुरुपयोग भएको ठहर सरकारको छ । बजारमा अन्य अवैध बाटोबाट आएका सुन पनि झिटीगुन्टाकै भनेर देखाउने प्रचलनले पनि काँचो सुन प्रतिवन्धित भएको हो ।
विमानस्थलबाटै काँचो सुनको तस्करी बढाएपछि अर्थतन्त्रको प्रमुख आधार मानिएको रेमिट्यान्समा समेत असर परेको सरकारको ठहर छ । यसले हुण्डीलाई प्रोत्साहन गर्ने र अवैधानिक कारोबार पनि बढ्ने देखिएको थियो ।
यसैका कारण नेपाल सुन तस्करीको अखडा बन्न सक्ने अवस्था आएपछि यो निर्णय लिएको सरकारी अधिकारीको दावी छ ।
‘नयाँ व्यवस्थाले नेपाली कामदारलाई कुनै फरक पर्दैन । ५० ग्रामसम्म सुनका गहना बनाएर उनीहरुले विदेशबाट ल्याउन सक्छन् । त्यसमा कुनै कर लाग्दैन,’ ढुंगानाले भने, ‘तस्करी नै गर्नेहरुलाई मात्रै यसले अप्ठेरो पार्नेछ ।’
कसरी हुन्छ तस्करी ?
स्रोतकाअनुसार खाडी देशमा किनेको ५० ग्राम सुन भन्सार नै नतिरी नेपाल ल्याउँदा मूल्यअनुसार १० देखि २० हजार रुपैयाँसम्म नाफा हुन्छ । थोरै समयमा धेरै कमाइ हुने भएपछि यस्तो पेशामा लाग्नेहरुले गिरोह नै तयार पारेको सरकारको दावी छ ।
विदेशमा धेरै वर्ष बिताएका, राम्रो रोजगारी र व्यवसाय भएका तथा विभिन्न संगठनमा आवद्ध भएर कमाउनेहरु व्यवसायकै रुपमा विदेशबाट काँचो सुन झिटीगुन्टामा पठाउन सक्रिय छन् । कतिपय आफ्नो व्यवसाय देखाउँदै नेपालीसँग सम्पर्क बढाएरसमेत सुन तस्करीमा लागेका छन् । त्यहाँबाट फर्कने तयारी गरिरहेकाहरुलाई सम्पर्क गरी सुन पठाउने धन्दा अहिले चलिरहेको छ । सुन बुझ्न नेपालमा एजेन्ट राखेरै धन्दा चलिरहेको छ । कतारका एयरपोर्टमा सुन बोकाएर पठाउन प्रतिकामदार ७ हजार रुपैयाँसम्म बार्गेनिङ हुने गरेको सूचना सरकारलाई आएको थियो ।
धेरै नेपाली कार्यरत कम्पनी र सुपरमार्केटबाट पुराना कर्मचारीले तस्करलाई नेपाल फर्किन लागेका कामदारबारे जानकारी दिने गर्छन् । ट्राभल व्यावसाय गर्नेहरुले भने त्यहाँ टिकट बनाउन आउनेलाई प्रयोग गर्ने गरेको पाइएको छ ।
त्यसैआधारमा सुन बोकाउन लगाएर सम्बन्धित कामदारको फोटो खिचेर नेपालका एजेन्टलाई हालिदिने र एजेन्टका फोन नम्बरहरु दिएर भाइबरमा सम्पर्क गर्न लगाउने गरिएको छ ।
विदेशमा तस्करले विभिन्न कम्पनीमा कार्यरत कामदारहरुले तलवका रुपमा पाउने पैसा एजेन्टमार्फत संकलन गर्छन् । ती एजेन्टहरुलाई केही प्रतिशत रकम दिने गर्छन् । लिएको पैसा करिब एक हप्तामा सुन बेचिसकेपछि नेपालमा स्थानीय रेमिट्यान्स प्रयोग गरी सम्बन्धित व्यक्तिले भनेको नेपालमा रहेका आफ्ना आफन्तका नाममा पठाइदिन्छन् ।
सुन लिएर नेपाल आउनेलाई लिन एजेन्ट एयरपोर्टमै पुग्ने गरेको पाइएको छ । तस्करहरुले आफ्नै पारिवारिक सदस्यलाई एजेन्टका रुपमा प्रयोग गरेका हुन्छन् ।
प्रायः यो धन्दामा संलग्नहरु काठमाडौंमा पनि विभिन्न व्यवसाय गरिरहेका छन् । सुन लिएपछि उनीहरुले सुन पसलमै पुगेर बिक्री गर्ने गरेको सरकारी अधिकारीकै दावी छ । तर, त्यसको भ्याट बील लिने/दिन नगर्दा सरकारले ठूलो राजश्व गुमाइरहेको छ । त्यसबाट बन्ने सुनका गहनामा पनि कर छली हुने गरेको सरकारको दावी छ ।

Post a Comment

 
Top